दार्मा गाउँपालिका वडा नम्बर ५ मा पोषण मेला तथा पूर्ण सरसफाइ उन्मुख टोल विकास संस्था घोषणा कार्यक्रम सम्पन्न

२०८३ असार १० बिहीबार १९:४८:०० मा प्रकाशित ९८

सल्यानको दार्मा गाउँपालिका–५ मा पोषण मेला २०८३ तथा पूर्ण सरसफाइ उन्मुख टोल विकास संस्था घोषणा कार्यक्रम सम्पन्न भएको छ। “पोषणको सुनिश्चितता, स्वस्थ जीवनको प्रतिबद्धता” भन्ने नारासहित आयोजित कार्यक्रममा भोटेगारे टोल विकास संस्थालाई पूर्ण सरसफाइ उन्मुख टोल विकास संस्था घोषणा गरिएको हो।
कार्यक्रमका प्रमुख अतिथि दार्मा गाउँपालिका अध्यक्ष नीमबहादुर केसी, विशिष्ट अतिथि उपाध्यक्ष जुना मल्ल चन्द तथा ईओएफ प्रतिनिधि कामना गुरुङ रहनुभएको थियो। त्यस्तै जेडसी विज्ञ राजु तिरुवा, सुस्वा सरसफाइ शाखा विज्ञ गोविन्दराज रोका, वडा सल्लाहकार अम्बादत्त अवस्थी, वडा नं. ५ का अध्यक्ष सुदीप केसी, डा. अभिमित चौधरी, स्वास्थ्य तथा सरसफाइ शाखा प्रमुख यज्ञबहादुर बस्नेत लगायत जनप्रतिनिधि, कार्यपालिका सदस्य, शाखा प्रमुख तथा स्थानीयवासीको उल्लेख्य सहभागिता रहेको थियो।
भोटेगारे टोल विकास संस्थाका अध्यक्ष चित्रबहादुर खड्काको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन वडा नं. ५ का वडा सचिव केशव केसीले गर्नुभएको थियो। कार्यक्रममा राष्ट्रिय कलाकार देवी बस्नेतसहित स्थानीय कलाकार, पञ्चेबाजा समूह, आमा समूह तथा महिला समूहले आकर्षक सांस्कृतिक प्रस्तुति दिएका थिए।
पोषण मेलाअन्तर्गत आयोजित वडा स्तरीय पोषण परिकार प्रदर्शनी प्रतियोगितामा पार्वता हमाल नेतृत्वको जनचेतना समूह प्रथम, त्रिवेणी आमा समूहकी चित्रा केसी द्वितीय, लालिगुराँस आमा समूहकी पूजा ओली खड्का तृतीय तथा समाज सुरक्षा आमा समूहकी सुशीला खड्का सान्त्वना हुन सफल भएका थिए। विजेताहरूलाई क्रमशः ५ हजार, ४ हजार, ३ हजार र २ हजार रुपैयाँ नगद पुरस्कार प्रदान गरिएको थियो।
त्यसैगरी खुला पोषण लोकदोहोरी प्रतियोगितामा पार्वता चन्दको समूह प्रथम, मनिषा विकको समूह द्वितीय, अनिता केसीको समूह तृतीय तथा पूजा खड्काको समूह सान्त्वना स्थान हासिल गर्न सफल भएका थिए। प्रतियोगिताका विजेताहरूलाई क्रमशः १० हजार, ८ हजार, ७ हजार र ५ हजार रुपैयाँ नगद पुरस्कार वितरण गरिएको थियो।
कार्यक्रममा पोषणयुक्त खानपान, सुरक्षित खानेपानी, व्यक्तिगत तथा वातावरणीय सरसफाइका विषयमा जनचेतना फैलाउने विभिन्न गतिविधि सञ्चालन गरिएको थियो। यस्ता कार्यक्रमले स्वस्थ, सफा र समृद्ध समाज निर्माणमा महत्वपूर्ण योगदान पुर्‍याउने विश्वास व्यक्त गरिएको छ।

ताजा खबर