पाँचौँ निशाना कप–२०८३ को भव्य उद्घाटन, आजदेखि विभिन्न प्रतियोगिता सञ्चालन हुने
रुकुम पश्चिमको त्रिवेणी गाउँपालिका–४ मा आयोजना गरिएको पाँचौँ निशाना कप–२०८३ को उद्घाटन समारोह भव्य रूपमा सम्पन्न भएको छ। हिजो कार्तिक १० गते आयोजित समारोहमा प्रमुख अतिथि प्रतिनिधिसभा सदस्य माननीय गोपाल शर्मा (अनल) ले कार्यक्रमको ब्यानर वाचन गर्नुका साथै पानसमा दीप प्रज्वलन गरेर प्रतियोगिताको औपचारिक समुद्घाटन गर्नुभएको थियो।
उद्घाटन समारोहमा त्रिवेणी गाउँपालिकाका अध्यक्ष गणेशकुमार केसी (हिमाल) विशिष्ट अतिथिका रूपमा सहभागी हुनुभएको थियो। त्यसैगरी नेपाली कांग्रेसका जिल्ला कार्यसमिति सदस्य अमरसिंह खड्कालगायत विभिन्न क्षेत्रका अतिथि, बुद्धिजीवी, शिक्षक, कर्मचारी, राजनीतिक दलका प्रतिनिधि, समाजसेवी, मयूर नाच समूह, आमा समूह तथा स्थानीय दर्शकहरूको उपस्थिति रहेको थियो।
निशाना युवा क्लबको आयोजनामा कार्तिक १० गतेदेखि १४ गतेसम्म सञ्चालन हुने प्रतियोगिताअन्तर्गत आजदेखि विभिन्न खेलकुद तथा सांस्कृतिक कार्यक्रम सञ्चालन हुने आयोजकले जनाएको छ। प्रतियोगितामा पुरुष तथा महिला भलिबल, हाजिरीजवाफ प्रतियोगिता र निशाना नृत्य आइडल सिजन–५ लगायतका कार्यक्रम समावेश गरिएका छन्।
प्रतियोगिताअन्तर्गत पुरुष भलिबलतर्फ विजेता टोलीले नगद ८० हजार रुपैयाँ र उपविजेता टोलीले ४० हजार रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन्। यस्तै, दुईवटा सान्त्वना टोलीले जनही २० हजार रुपैयाँ पुरस्कार पाउनेछन्। पुरुष भलिबलमा सहभागी हुन ६ हजार रुपैयाँ दर्ता शुल्क तोकिएको कार्यक्रम व्यवस्थापक यमन बाँठाले जानकारी दिनुभयो।
महिला भलिबलतर्फ विजेता टोलीले ५० हजार रुपैयाँ र उपविजेता टोलीले २५ हजार रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन्। त्यसैगरी, दुईवटा सान्त्वना टोलीले जनही १० हजार रुपैयाँ पुरस्कार पाउनेछन्। महिला भलिबलका लागि चार हजार रुपैयाँ दर्ता शुल्क निर्धारण गरिएको व्यवस्थापक बाँठाले बताउनुभयो।
त्यस्तै, हाजिरीजवाफ प्रतियोगितामा प्रथम हुने टोलीले १२ हजार, द्वितीय हुने टोलीले ६ हजार र तृतीय हुने टोलीले चार हजार रुपैयाँसहित मेडल तथा प्रमाणपत्र प्राप्त गर्नेछन्।
यसैगरी, निशाना नृत्य आइडल सिजन–५ अन्तर्गत प्रथम हुनेले १० हजार, द्वितीय हुनेले पाँच हजार र तृतीय हुनेले दुई हजार पाँच सय रुपैयाँसहित मेडल तथा प्रमाणपत्र प्राप्त गर्ने आयोजक निशाना युवा क्लबका अध्यक्ष लोकबहादुर बाँठाले जानकारी दिनुभयो।
दसैँ–तिहारको अवसरमा साथीभाइ, आफन्तजन तथा स्थानीयवासीबीच आपसी भेटघाट, सद्भाव र भाइचारा अभिवृद्धि गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको आयोजकले जनाएको छ। प्रतियोगितामा सहभागी हुन आयोजकले सम्पूर्ण खेलाडी, खेलप्रेमी तथा आम दर्शकलाई आह्वान गरेको छ।
कार्तिक १४ गतेसम्म सञ्चालन हुने पाँचौँ निशाना कपले स्थानीय खेलकुद प्रतिभाको पहिचान र विकास गर्नुका साथै कला, संस्कृति तथा आपसी सद्भावको प्रवर्द्धनमा योगदान पुर्याउने अपेक्षा गरिएको छ।