ढाकाडाम महिला साना किसान सहकारीको १२औँ वार्षिक साधारण सभा सम्पन्न, सदस्यता वृद्धि र आम्दानीमा जोड दिँदै ३० करोड कारोबारको लक्ष्य

२०८३ असोज २४ आइतबार १७:२६:०० मा प्रकाशित १०३

 

सल्यान — सल्यानको दार्मा गाउँपालिका–५ त्रिवेणीस्थित ढाकाडाम महिला साना किसान कृषि सहकारी संस्था लिमिटेडको १२औँ वार्षिक साधारण सभाको उद्घाटन दार्मा गाउँपालिकाका उपाध्यक्ष जुना मल्ल चन्दले पानसमा बत्ती बालेर गर्नुभएको थियो। ‘साना किसानको समृद्धि : कृषिको रूपान्तरण र उद्यमशीलताको विकास’ भन्ने नाराका साथ आयोजित साधारण सभामा संस्थाको प्रगति, आर्थिक अवस्था तथा आगामी योजनाबारे छलफल गरिएको छ।

कार्यक्रममा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत खुमबहादुर केसी विशिष्ट अतिथिका रूपमा सहभागी हुनुहुन्थ्यो। त्यस्तै, वडा नम्बर ५ का वडाध्यक्ष सुदीप केसी, वडा नम्बर ६ का वडाध्यक्ष देवी खत्री, कार्यपालिका सदस्य, दुवै वडाका वडा सदस्य, स्थानीय विद्यालयका प्रमुख तथा प्रतिनिधि, पत्रकार र सहकारीका सदस्यहरूको उल्लेख्य सहभागिता रहेको थियो।

दार्मा गाउँपालिका वडा नम्बर ५ र ६ लाई कार्यक्षेत्र बनाएको यस सहकारीमा २०५ समूहमा आबद्ध १ हजार १८१ घरपरिवार सदस्य रहेका छन्। गरिब तथा विपन्न समुदायलाई आर्थिक राहत प्रदान गर्ने उद्देश्यले स्थापित सहकारीले पछिल्लो समय सदस्यहरूमाझ लोकप्रियता हासिल गर्दै गएको छ।

संस्थाकी अध्यक्ष यशोदा मल्ल चन्दको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन सहकारीका वरिष्ठ प्रबन्धक सुरेन्द्र प्रकाश केसीले गर्नुभएको थियो। १२औँ वार्षिक साधारण सभामा सञ्चालक समितिका तर्फबाट अध्यक्ष यशोदा मल्ल चन्दले वार्षिक प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो। प्रतिवेदनमाथि गहन छलफल गर्दै संस्थाको भावी कार्यदिशा, योजना तथा कार्यक्रमसम्बन्धी विभिन्न निर्णयसमेत पारित गरिएको छ।

संस्थाले सदस्यहरूलाई सहुलियत ब्याजदरमा ऋण लगानी गर्दै कृषि तथा पशुपालनका विभिन्न कार्यक्रम सञ्चालन गरिरहेको छ। दूध उत्पादनमा अनुदान तथा प्रोत्साहन, सिँचाइ कुलो निर्माण, मकैको बीउ उत्पादन, कृषि उपज सङ्कलन, खसीबोका सङ्कलन तथा अदुवा र बेसार सङ्कलनमा अनुदान र प्रोत्साहनलगायतका कार्यक्रममार्फत किसानको आयआर्जन र आर्थिक अवस्था सुधारमा योगदान पुर्‍याउँदै आएको छ।

सहकारीले आर्थिक वर्ष २०८२/८३ मा करिब २३ करोड रुपैयाँको कारोबार गरेको जनाएको छ। आगामी आर्थिक वर्ष २०८३/८४ मा कारोबारलाई बढाएर करिब ३० करोड रुपैयाँ पुर्‍याउने लक्ष्य लिएको छ। साथै, आगामी आर्थिक वर्षमा थप समूह विस्तार गरी सदस्यहरूको सहभागिता बढाउने योजना संस्थाले अघि सारेको छ।

सभाका अवसरमा सहकारीमा आबद्ध सदस्यहरूलाई विभिन्न समूहमा विभाजन गरी उनीहरूको योगदान तथा उपलब्धिका आधारमा विभिन्न विधामा पुरस्कारसमेत वितरण गरिएको थियो।

ताजा खबर