रुकुम पश्चिम त्रिवेणी गाउँपालिकामा प्रगतिशील लोकतान्त्रिक पार्टीको बैठक सम्पन्न
रुकुम पश्चिमको त्रिवेणी गाउँपालिकामा प्रगतिशील लोकतान्त्रिक पार्टीले आफ्नो संगठनात्मक गतिविधिलाई थप सक्रिय बनाउने उद्देश्यसहित गाउँपालिका स्तरीय बैठक सम्पन्न गरेको छ।
त्रिवेणी गाउँपालिका–२ सिम्रुतुमा सम्पन्न बैठकमा पार्टीका जिल्ला संयोजक तथा केन्द्रीय सदस्य शैलेशकुमार शर्मा र केन्द्रीय अनुशासन विभाग सदस्य गनेशबहादुर खड्काको उपस्थिति रहेको थियो।
बैठकमा पार्टीको संगठन विस्तार, सदस्यता नवीकरण तथा वडा तहसम्म पार्टीका गतिविधिलाई प्रभावकारी बनाउने विषयमा छलफल गरिएको बताइएको छ। आगामी दिनमा वडा स्तरमा भेला तथा बैठक सञ्चालन गर्ने र पार्टीका नेता तथा कार्यकर्तालाई संगठन सुदृढीकरणमा सक्रियताका साथ परिचालन गर्ने निर्णयसमेत गरिएको छ।
त्यसैगरी, आगामी स्थानीय तहको निर्वाचनलाई लक्षित गर्दै अहिलेदेखि नै आवश्यक तयारीमा जुट्न तथा संगठनलाई गाउँदेखि वडा तहसम्म थप मजबुत बनाउन कार्यकर्तालाई निर्देशन दिइएको गाउँपालिका संयोजक राजेन्द्र पुनले जानकारी दिनुभयो।
बैठकले आगामी राजनीतिक गतिविधिलाई योजनाबद्ध रूपमा अघि बढाउँदै पार्टीका कार्यक्रमलाई जनस्तरसम्म पुर्याउने र कार्यकर्ताबीचको समन्वय तथा सक्रियतालाई थप प्रभावकारी बनाउने विषयमा समेत जोड दिएको बताइएको छ।