देशभर श्रद्धा र भक्ति साथ सरस्वती पुजा र श्रीपञ्चमी (वसन्त पञ्चमी) मनाइँदै
प्रत्येक वर्ष माघ शुक्ल पञ्चमीका दिन मनाइने श्रीपञ्चमी अर्थात् वसन्त पञ्चमी आज देशभरका साथै कार्णाली प्रदेशका रुकुम पश्चिम, सल्यान, जाजरकोट, सुर्खेत र दैलेख आसपासका जिल्लामा पनि श्रद्धा र भक्तिपूर्वक मनाइँदैछ । विद्याकी अधिष्ठात्री देवी सरस्वतीको विधिपूर्वक पूजा–आराधना गर्दै ज्ञान, बुद्धि र सृजनाको कामना गरिँदै आएको छ ।
वसन्त पञ्चमीका दिन सरस्वतीको पूजा गरे विद्या र विवेक बढ्ने धार्मिक विश्वास रहिआएको छ । यही विश्वासअनुसार आज ती जिल्लाका विभिन्न सरस्वती मन्दिरहरूमा बिहानैदेखि श्रद्धालु भक्तजनको उल्लेख्य भीड लागेको छ । विशेषगरी विद्यालय नपठाइएका साना बालबालिकालाई आजकै दिनदेखि अक्षरारम्भ गराउने परम्परा स्थानीय तहमा पनि उत्साहका साथ अपनाइएको छ ।
चन्द्रमाजस्तै गोरो वर्ण भएकी, हातमा वीणा र पुस्तक लिएकी देवी सरस्वतीलाई भारती, शारदा, हंसवाहिनी, वागीश्वरी, वरदायिनी, बुद्धिदात्रीलगायत विभिन्न नामले पुकारिन्छ । विद्या र सृजनाकी देवी भएकाले आजको दिन साहित्यकार, कलाकार, पत्रकार, शिक्षक तथा विद्यार्थीहरूले आफ्ना कला–साधनाका सामग्री—कलम, कापी, कुची र वाद्ययन्त्र आदिलाई सरस्वतीको प्रतीक मानी पूजा–आराधना गरेका छन् ।
यस दिन सूर्य उत्तरायण लाग्ने, दिन लामा हुने र वसन्त ऋतु प्रारम्भ हुने विश्वासका साथ यस पर्वलाई ‘वसन्त पञ्चमी’ पनि भनिन्छ । धार्मिक ग्रन्थहरूमा आजकै दिन सरस्वतीको पूजा गरी विद्यारम्भ गरे सर्वसिद्धि प्राप्त हुने उल्लेख गरिएको छ ।
आजका दिन विवाह, व्रतबन्ध, गुफा राख्ने र बेलविवाहजस्ता सामाजिक तथा धार्मिक कार्यका लागि साइत हेर्नु नपर्ने मान्यता रहे पनि यस वर्ष शुक्र अस्त भएकाले ती शुभकर्महरू भने नगरिएको जनाइएको छ । यद्यपि बालबालिकालाई शिक्षा आरम्भ गराउने तथा नाक–कान छेडिदिने परम्परा भने यथावत् रहेको छ ।
रुकुम पश्चिमका विभिन्न गाउँ–बस्ती, सल्यानका धार्मिक
स्थलहरू, जाजरकोटका सरस्वती मन्दिर, सुर्खेत र दैलेखका शैक्षिक संस्थाहरूमा पनि आज विशेष पूजा, अक्षरारम्भ कार्यक्रम तथा सांस्कृतिक गतिविधिहरू आयोजना गरिएका छन् । सरस्वतीलाई चढाइएको सात गेडा अक्षता दाँतले नछोई निलेमा विद्या र बुद्धि स्फुरण हुने धार्मिक विश्वासअनुसार भक्तजनहरूले श्रद्धापूर्वक पूजा गर्दै छ्न ।