त्रिवेणी कांग्रेसको सभापतिमा दीपेन्द्र कुमार ओली सर्वसम्मत चयन
रुकुम पश्चिमको त्रिवेणी गाउँपालिकामा नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत ८औँ गाउँपालिका अधिवेशन सम्पन्न भएको छ। अधिवेशनबाट दीपेन्द्र कुमार ओली नेपाली कांग्रेस त्रिवेणी गाउँपालिकाको सभापतिमा सर्वसम्मत निर्वाचित हुनुभएको छ।
आज सम्पन्न अधिवेशनबाट ओलीको नेतृत्वमा नयाँ गाउँपालिका कार्यसमिति चयन गरिएको हो। जसअनुसार उपसभापतिमा दिनेश खड्का र रमिता चन्द, सचिवमा सन्तोष ओली तथा सहसचिवमा पूर्णविराम ओली चयन हुनुभएको छ।
त्यस्तै, कार्यसमिति सदस्यमा उदिराम बुढाथोकी, विष्णु रोका र रेशम केसी चयन हुनुभएको छ। युवा सदस्यमा रेश्मी नेपाली र दीपा केसी, युवा महिला सदस्यमा विष्णु दमाई तथा दलित सदस्यमा पूर्ववली चयन हुनुभएको जनाइएको छ।
अधिवेशन सहमति र सहकार्यका आधारमा सर्वसम्मत रूपमा नयाँ नेतृत्व चयन गर्दै सम्पन्न भएको निर्वाचन अधिकृत तथा नेपाली कांग्रेसका नेता रत्नबहादुर खड्काले जानकारी दिनुभयो।
उहाँका अनुसार अधिवेशनमा गाउँपालिकाका विभिन्न वडाबाट आएका प्रतिनिधिको सहभागिता रहेको थियो। गाउँपालिका तहको अधिवेशन सम्पन्न भएसँगै नेपाली कांग्रेसको आगामी संगठनात्मक गतिविधि तथा माथिल्लो तहका अधिवेशनको प्रक्रिया अघि बढ्ने भएको छ।