कर्णाली मन्त्रिपरिषद्ले पायो पूर्णता, रुकुम पश्चिमका मिलन र कल्याणीसहित तीन मन्त्रीले लिए शपथ
कर्णाली प्रदेश सरकारमा तीन जना नयाँ मन्त्री थपिएका छन्। मुख्यमन्त्री मंगलबहादुर शाहीले करिब एक महिनापछि मन्त्रिपरिषद्लाई पूर्णता दिनुभएको हो।
प्रदेश प्रमुख यज्ञराज जोशीले नवनियुक्त तीनै मन्त्रीलाई पद तथा गोपनीयताको शपथ गराउनुभएको छ। रुकुम पश्चिमकी मिलन खड्काले भौतिक पूर्वाधार तथा सहरी विकास मन्त्री र सोही जिल्लाकी कल्याणी खड्काले उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रीको जिम्मेवारी सम्हाल्नुभएको छ। यस्तै, जुम्कित लामालाई भूमि, व्यवस्था, कृषि तथा सहकारी मन्त्री नियुक्त गरिएको छ।
नवनियुक्त तीनै मन्त्री नेपाली कम्युनिस्ट पार्टी (नेकपा)बाट प्रदेश सरकारमा सहभागी हुनुभएको हो। उहाँहरू सबै समानुपातिक प्रणालीबाट कर्णाली प्रदेशसभा सदस्य बन्नुभएको हो।
मिलन खड्का तत्कालीन नेकपा माओवादी केन्द्रबाट समानुपातिक प्रदेशसभा सदस्य बन्नुभएको थियो भने कल्याणी खड्का तत्कालीन नेकपा एकीकृत समाजवादीबाट समानुपातिकतर्फ प्रदेशसभा सदस्य बन्नुभएको थियो। पार्टी एकतापछि हाल दुवै जना नेपाली कम्युनिस्ट पार्टीका सांसद हुनुहुन्छ।
मन्त्री छनोटको विषयमा सत्तारुढ दलभित्रै विवाद देखिएपछि मन्त्रिपरिषद् विस्तारमा ढिलाइ भएको थियो। यसअघि भौतिक पूर्वाधार तथा सहरी विकास मन्त्रालयका लागि विन्दमान विष्टको नाम अन्तिम चरणमा पुगे पनि तत्कालीन समाजवादीको भागमा मन्त्रालय पर्नुपर्ने विषयमा विवाद भएपछि समीकरण फेरिएको थियो। अन्ततः सो मन्त्रालयमा मिलन खड्का र उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयमा कल्याणी खड्कालाई जिम्मेवारी दिइएको हो।
मन्त्री छनोटको विषयलाई लिएर नेकपाभित्र देखिएको आन्तरिक विवादका कारण मुख्यमन्त्री शाहीले लामो समयसम्म मन्त्रिपरिषद्लाई पूर्णता दिन सक्नुभएको थिएन। पछिल्लो निर्णयसँगै कर्णाली सरकारको मन्त्रिपरिषद्ले पूर्णता पाएको छ।