कर्णाली प्रदेशको मुख्यमन्त्रीमा मंगलबहादुर शाही नियुक्त

२०८३ श्रावण ११ मंगलबार २२:०२:०० मा प्रकाशित ६१

 कर्णाली प्रदेशको मुख्यमन्त्रीमा मंगलबहादुर शाही नियुक्त हुनुभएको छ। प्रदेश प्रमुख यज्ञराज जोशीले नेपालको संविधानको धारा १६८ को उपधारा (२) बमोजिम उहाँलाई कर्णाली प्रदेशको मुख्यमन्त्री पदमा नियुक्त गर्नुभएको हो।
शाहीले मंगलबार साँझ करिब ५ बजे प्रदेश प्रमुखको कार्यालयमा पुगेर मुख्यमन्त्री पदमा आफ्नो दाबी पेस गर्नुभएको थियो। उहाँलाई आफ्नै दलका १४ तथा सत्ता साझेदार दल नेकपा (एमाले) का १० गरी २४ प्रदेशसभा सदस्यको समर्थन प्राप्त भएको थियो।
४० सदस्यीय कर्णाली प्रदेशसभामा सरकार गठनका लागि कम्तीमा २० प्रदेशसभा सदस्यको समर्थन आवश्यक पर्ने संवैधानिक व्यवस्था छ। आवश्यक बहुमत प्राप्त गरेपछि प्रदेश प्रमुखले उहाँलाई मुख्यमन्त्रीमा नियुक्त गर्नुभएको हो।
प्रदेश प्रमुखको कार्यालयका सचिव हिरालाल चौधरीका अनुसार नवनियुक्त मुख्यमन्त्री शाहीले बुधबार पद तथा गोपनीयताको शपथ ग्रहण गर्नुहुने कार्यक्रम रहेको छ। उहाँको नियुक्तिसँगै कर्णाली प्रदेशमा नयाँ सरकार गठनको प्रक्रिया औपचारिक रूपमा अघि बढेको छ।

ताजा खबर